काठमाडौं । जेनजी आन्दोलनले उग्र रुप लिँदै जाँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्। ९६ वर्षीय उनका बुबालाई उद्धार गर्दै ज्यान जोगाइए पनि सम्पूर्ण घर जलेको छ।
सम्पत्ति जले पनि डा. भट्टराईले तत्काल कुनै प्रतिक्रया जनाएनन्। बरु उनले दलहरूले युवाको आवाज नसुनेका कारण यस्तो घटना निम्तिएको स्वीकार गर्दै आफूहरू नै जिम्मेवार रहेको बताएका छन्।
दलका शीर्ष नेताहरू भूमिगत भएका बेला उनी भने अन्तरिम प्रधानमन्त्री शुसिला कार्कीको सपथ ग्रहण समारोहमा उपस्थित रहे। त्यहाँ उनले नयाँ सरकारलाई शुभकामना दिँदै जेनजी आन्दोलनलाई गरिमामय बनाइराख्न आग्रह गरे।
दुई दिनपछि थप मन्त्रीहरूको सपथ ग्रहणमा पनि उनी उपस्थित भए। अन्य नेताहरूले जेनजीलाई ‘आतङ्ककारी’ भन्दै तालिबानसँग तुलना गरिरहँदा भट्टराई भने आन्दोलनको उपलब्धि र सम्भावनाबारे बोले।
उनले भने, “सार्वजनिक सम्पत्ति जलाउनेहरू जेनजी हुन सक्दैनन्। भोलिका दिन हामीलाई चाहिन्छ, कृपया नजलाऔं।” साथै, “भेडाको खोल ओढेर आउने ब्वाँसासँग सतर्क रहनुपर्छ,” भन्दै चेतावनी दिए।
डा. भट्टराईले आफ्नो सम्पत्ति जलेको भन्दा किताब गुमेकोमा बढी पीडा महसुस गरेको बताएका छन्। वैदेशिक रोजगारीबाट फर्कने युवासँग नयाँ पुस्तक ल्याइदिन अनुरोध गर्ने उनले, घर छाड्दा अमेरिकन जीवविज्ञानी एडवर्ड ओ. विल्सनको The Human Nature मात्रै निकाल्न भ्याएको बताएका छन्।